कार्की आयोगका प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग, सभापति थापाको राजीनामा अस्वीकृत

वीरगंज , ९ फागुन –

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले भदौ २३–२४ मा भएको जेनजी प्रदर्शनसम्बन्धी घटनाको न्यायिक जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ। शुक्रबारदेखि बसेको बैठकले निर्वाचन परिणामबारे समीक्षा गर्दै जिल्ला र निर्वाचन क्षेत्रबाट थप प्रतिवेदन माग गर्ने तथा सबै प्रतिवेदनलाई एकीकृत गरी पुनः समीक्षा गर्ने निर्णय गरेको छ।

बैठकमा निर्वाचन परिणामका कारणका रूपमा गुटबन्दी, आन्तरिक असहयोग, गठबन्धन सरकारको कार्यसम्पादनप्रति जनअसन्तोष, जेन–जी युवा आन्दोलन, डिजिटल प्रभाव र संरचनागत कमजोरीहरूलाई औंल्याइएको छ। कांग्रेसले निर्वाचन परिणामलाई पुनर्जागरणको अवसरका रूपमा लिने निर्णय गर्दै अब पार्टी १५औँ महाधिवेशनतर्फ केन्द्रित हुने जनाएको छ। साथै मध्यपूर्वमा चर्किएको युद्धप्रति चिन्ता व्यक्त गर्दै युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराइएको छ।

यस्तै, केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाले निर्वाचन परिणामपछि नैतिक जिम्मेवारीस्वरूप दिएको राजीनामा सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय पनि गरेको छ। बैठकले वर्तमान परिस्थितिमा पार्टी एकता, संगठन सुदृढीकरण र आगामी महाधिवेशनको तयारीका लागि नेतृत्व आवश्यक रहेको निष्कर्ष निकालेको जनाएको छ।

सम्बन्धित पोस्टहरुः