कृषि औजार कारखानाका औजार बिक्री बढ्दो, ९ महिनामा १७ लाखको कारोबार

वीरगंज , ९ फागुन –

वीरगंजस्थित कृषि औजार कारखानाले उत्पादन गरेका साना–ठूला कृषि उपकरणहरूको बिक्री बढ्दै गएको छ। राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुन को नेतृत्वमा सञ्चालित कारखानाले चालु आर्थिक वर्षको ९ महिनामा १७ लाख रुपैयाँ बराबरका औजार बिक्री गरिसकेको जनाएको छ।

कारखानाका इन्जिनियर रितेश देव का अनुसार आर्थिक वर्षको अन्त्यसम्म ५० लाख रुपैयाँ बराबरका औजार बिक्री गर्ने लक्ष्य राखिएको छ। हाल ३० भन्दा बढी कृषि औजारमा अनुसन्धान गरिएको र १० प्रकारका औजार उत्पादन गरी बजारमा बिक्री भइरहेको उनले जानकारी दिए।

कारखानाले मकै, धान, गहुँ, उखु र आलु रोप्ने तथा गोड्ने मेसिन, काट्ने औजार, हाते ट्याक्टरको ट्रली तथा केराको रेशाबाट फाइबर बनाउने मेसिन समेत उत्पादन गर्दै आएको छ। कारखानामा प्राविधिकसहित ४५ जना कर्मचारी कार्यरत छन्।

२०५९ सालदेखि बन्द रहेको कारखाना २०७९ कात्तिकमा राष्ट्रिय अविष्कार केन्द्रले नेपाल सरकारसँग सम्झौता गरेर सञ्चालनमा ल्याएको हो। कच्चा पदार्थको अभाव र फलामको मूल्यवृद्धिका कारण उत्पादनमा केही समस्या भए पनि कारखानामा बनेका कृषि औजार देशभित्रै बिक्री भइरहेको कारखानाले जनाएको छ।

कारखाना सञ्चालनमा आएको अवलोकन गर्न पछिल्लो समय विभिन्न जिल्लाबाट सर्वसाधारणसमेत आउने गरेका छन्।

सम्बन्धित पोस्टहरुः