वीरगंज , ९ फागुन –
बेमौसमी वर्षाका कारण महोत्तरी जिल्लाका इँटा उद्योगहरूमा ६ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। गत शुक्रबार, शनिबार र आइतबार परेको वर्षाले पकाउन तयारी अवस्थामा राखिएका काँचो इँटा नष्ट भएपछि उद्योगीहरू ठूलो आर्थिक क्षतिमा परेका हुन्।
इँटा उद्योग व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष सञ्जय चौधरीका अनुसार जिल्लाभित्र रहेका करिब तीन दर्जन इँटा उद्योगमा सुकाएर पकाउन तयारी अवस्थामा राखिएका इँटा वर्षाले पगालिदिँदा करोडौँको क्षति भएको हो। इँटा उत्पादनका लागि अनुकूल मानिने माघ, फागुन र चैत महिनामा प्रायः वर्षा नहुने भएकाले उद्योगहरूले ठूलो परिमाणमा इँटा उत्पादन गरी सुकाइराखेको अवस्थामा वर्षा भएपछि क्षति भएको उनले बताए।
औरही नगरपालिका–२ स्थित न्यु बाबा इँटा उद्योगका सञ्चालक हरिनारायण यादवले वर्षभरि बिक्री गर्ने इँटा तयार पारेर सुकाइराखेको अवस्थामा वर्षाले सबै इँटा नष्ट गरेपछि आर्थिक समस्या भएको गुनासो गरे। यस्तै औरही–७ मा रहेको न्यु मिथिला इँटा उद्योगका सञ्चालक रामबाबु चौधरीले आकस्मिक वर्षाले सुकाइराखेको काँचो इँटा बगाउँदा उद्योगीको लगानी र मेहनत दुबै नष्ट भएको बताए।
बेमौसमी वर्षाका कारण जिल्लाका इँटा उद्योगहरूमा न्यूनतम ८ लाखदेखि अधिकतम २२ लाख रुपैयाँसम्म क्षति पुगेको जनाइएको छ। उद्योगीहरूले प्राकृतिक विपत्तिबाट भएको क्षतिमा राहत तथा सहुलियतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।








