प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी र सुदूरपश्चिम विजयी

वीरगंज , ९ फागुन –

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई १ सय १ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

लुम्बिनीले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको कोशी प्रदेश ३१ ओभर ४ बलमा १ सय १ रन बनाउँदा अलआउट भयो। कोशीका अङ्कित सुवेदीले ३० रन बनाए। लुम्बिनीका सन्तोष यादवले ४, राजेन्द्र बमले ३ र निर्मल गुरुङले २ विकेट लिए।

यसअघि जनकपुरधाममा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेश ४९ ओभर ३ बलमा २ सय ४९ रन बनाउँदा अलआउट भएको थियो। लुम्बिनीका कप्तान देव खनालले ९२ तथा सन्तोष यादवले ४८ रन बनाए। कोशीका सुजन थपलियाले ४ र दिपेश कँडेलले २ विकेट लिए।

प्रतियोगिताअन्तर्गत आजै वीरगंजमा भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गरेको छ। नेपाल क्रिकेट संघ को आयोजनामा भइरहेको प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीको सहभागिता रहेको छ।

खेलहरू काठमाण्डौको मूलपानी मैदान तथा मधेश प्रदेशको वीरगंज र जनकपुरमा भइरहेका छन्। प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

सम्बन्धित पोस्टहरुः