राधेश्याम पटेल,वीरगंज,९ चैत /
कृषि औजार अनुसन्धान केन्द्र, रानीघाट वीरगञ्जको आयोजनामा एकदिने स्थलगत अवलोकन तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बारा र पर्सा जिल्लामा लगाइने हिउँदे बाली आलु तथा गहुँ खेतीमा प्रयोग भइरहेका आधुनिक प्रविधिबारे संयुक्त अनुगमन तथा मूल्याङ्कन गरिएको हो।
कार्यक्रम अन्तर्गत बारा जिल्लाको फेटा गाउँपालिका–१, त्रिवेणीमा स्थानीय किसानले मेसिनको प्रयोग गरी लगाएको आलु खेतीको अवलोकन गरिएको थियो। साथै मेसिनकै सहायताले आलु खन्ने तरिकाबारे किसानहरुलाई व्यवहारिक जानकारी गराइएको थियो।
त्यसैगरी पर्साको जगरनाथपुर गाउँपालिका–१, बिजवनियामा मल्चर प्रविधिबाट लगाइएको गहुँ बालीको निरीक्षण गरिएको थियो। किसान, कृषि क्षेत्रका विज्ञ तथा प्राविधिकहरुको संयुक्त टोलीले उक्त प्रविधिबाट हुने फाइदाबारे फिल्डमै छलफल तथा अन्तरक्रिया गरेका थिए।
कार्यक्रम शिरु हुनु अघि रानीघाटस्थित आयोजक संस्थाको सभाहलमा कार्यपत्र प्रस्तुत गर्दै कृषि औजार अनुसन्धान केन्द्र रानीघाटका प्रमुख सचिन मिश्रले आधुनिक युगमा कृषि यान्त्रिकीकरणको प्रयोगबाट विभिन्न हिउँदे बालीमा लागत खर्च घटाउनुका साथै उत्पादन वृद्धि गर्न सकिने तथ्य प्रस्तुत गरेका थिए।
कृषि अनुसन्धान निर्देशनालय परवानीपुर, बाराका निर्देशक डा. विशेश्वरप्रसाद यादवको सभापतित्व तथा राष्ट्रिय कृषि अनुसन्धान परिषद् (काठमाडौँ)का कार्यकारी निर्देशक डा. कृष्ण तिमल्सिनाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा मधेश प्रदेशका विभिन्न जिल्लामा रहेका कृषि अनुसन्धानसम्बन्धी सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको जनाइएको छ।
आयोजकका अनुसार केन्द्रले हरेक वर्ष यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। पछिल्लो समय विकसित आधुनिक प्रविधि अपनाएर कृषि उत्पादन बढाउन सकिने विश्वासका साथ अनुसन्धानकर्मी सक्रिय रहेका छन्।
वक्ताहरुले आधुनिक समयमा कृषिमा ज्यालादारी कामदारको अभाव देखिँदै गएको उल्लेख गर्दै यान्त्रिकीकरणको प्रयोगले उत्पादन वृद्धि गरी आयातको मात्रा घटाउन तथा देशको आर्थिक विकासमा टेवा पुग्ने धारणा व्यक्त गरेका छन्।









