पाँच दिन बितिसक्दा पनि नाबालकको हत्यारा पक्राउ परेनन्

छिमेकीले नै योजनाबद्ध रुपले हत्या गरेको मृतकका बुबाको आरोप
रौतहट, ९ चैत ।
रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नम्बर २ घर भई हाल गुजरा नगरपालिका वडा नम्बर ८, देवीपुर जोगौलिया टोलमा बस्ने १७ वर्षीय एक नाबालकको हत्या भएको घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ।
मृतकका बुबा शेख जमिल अख्तरका अनुसार उनका नाबालक छोरा मोहम्मद एकरामुललाई घरबाट बोलाएर लगिएको र योजनाबद्ध रूपमा २०८२ साल चैत्र ०४ गते राती हत्या गरिएको आरोप छ। उनले छिमेकीले नै छोराको हत्या गरी आफ्नै घरमा बन्द गरेर राखेको दाबी गरेका छन।
अख्तरले भने, मेरो छोरालाई बोलाएर लगियो र हत्या गरियो। त्यसपछि शव लुकाउन छिमेकीको घरमै राखिएको थियो  ।
घटना भएको पांच दिन बितिसक्दा पनि हत्यामा संलग्न भनिएका व्यक्तिहरूलाई प्रहरीले पक्राउ नगरेको भन्दै पीडित परिवारले आक्रोश व्यक्त गरेको छ। उनीहरूले सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन।
स्थानीय बासिन्दाहरूले पनि घटनाको निष्पक्ष छानबिन गरी पीडितलाई न्याय दिलाउन माग गरेका छन।
प्रहरीले भने घटनावारे अनुसन्धान भइरहेको जनाएको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटका प्रमुख डिएसपी रूपा लावुङ्गका अनुसार “घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको छ, दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याइनेछ।” पोष्टमार्टमको रिपोर्ट नआई सक्दा सम्म केही भन्ने अवस्था नरहेको बताए ।
सम्बन्धित पोस्टहरुः