राधेश्याम पटेल,
परवानीपुर, चैत १० – पर्सा प्रहरीले वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित गीता गजेन्द्रराज जोशी माध्यमिक विद्यालय(सुखचैना)का प्रधानाध्यापक उमेश मिश्र र विद्यालय व्यवस्थापन समितिका सदस्य रामविनेश यादवलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार आज अपरान्ह करिब ५ बजे विद्यालय परिसरबाट उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सा लगिएको हो। चैत ४ गते कक्षा ५ मा अध्ययनरत १२ वर्षीय विद्यार्थी आयुष कुशवाहाको मृत्यु घटनाबारे अनुसन्धान गर्न उनीहरुलाई सोधपुछका लागि ल्याइएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले बताए ।
वीरगंज–२१ परवानीपुर निवासी अवधकिशोर कुशवाहाका छोरा आयुष कक्षाकोठामै अचानक बेहोस भएका थिए। बेहोस भएपछि उनलाई उपचारका लागि सुखचैनास्थित मुकेश यादवको क्लिनिकमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि वीरगंज हेल्थकेयर अस्पतालमा लगिएको र पछि थप उपचारका लागि काठमाडौं लैजादै गर्दा अवस्था बिग्रेपछि अमलेखगंज बाटोबाट पुन फिर्ता ल्याएर एलएस न्यूरो त्रिमुर्ती चोकमा भर्ना गरिएको परिवारजनले बताएका छन्।
सोही अस्पतालमा उपचारका क्रममा आयुषको मृत्यु भएको हो।
दाहसंस्कारका क्रममा टाउको मुन्डन गर्दा टाउकोको भागमा आन्तरिक रक्तस्राव जस्तो देखिने दाग भेटिएपछि बालकको मृत्यु स्वाभाविक नभई कसैको कुटपिटबाट भएको हुन सक्ने आशंका परिवारजनले गरेका थिए। यद्यपि पोस्टमार्टम नगरी नै अन्त्येष्टि गरिएको थियो।
घटना सञ्चार माध्यममा सार्वजनिक भएपछि पर्सा प्रहरीको ध्यानाकर्षण भएको थियो। परिवारजनले दिएको निवेदनका आधारमा अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।
प्रहरी टोली आज विद्यालय पुगेर अनुसन्धान सुरु गरेको र परिवारजनले छानबिनको माग गर्दै विरोध प्रदर्शनसमेत गरेका थिए। सोही क्रममा प्रहरीले प्रधानाध्यापक मिश्र र व्यवस्थापन समितिका सदस्य यादवलाई नियन्त्रणमा लिएको हो।
यस विषयमा विद्यालयका विद्यार्थीहरूसँग सोधपुछ गर्दा शिक्षकले कुटपिट गरेको भन्ने स्पष्ट प्रमाण नदेखिएको वीरगंज–२१ का वडाध्यक्ष राधाकृष्ण रौनियारले बताए। उनका अनुसार घटनाको निवेदन परेकाले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ। दोषी देखिए कारबाही हुने र निर्दोष देखिए रिहा गरिने उनले बताए।
विद्यालयका शिक्षक–शिक्षिकाहरुले भने आफूहरुको कुनै संलग्नता नरहेको बताएका छन्। वीरगंज हेल्थ केयर अस्पतालका चिकित्सकले बालकमा ‘चम्की’ रोगका कारण अवस्था गम्भीर बनेको बताएका छन् भने एलएस न्युरो अस्पतालका चिकित्सक डाक्टर श्यामबाबु पटेलले अस्पताल ल्याउँदा बालकको रक्तचाप र आँखाको प्रतिक्रिया नभएको बताए। घाँटी नजिकको रक्तनलीमा चाल देखिएकाले केही समय उपचारका लागि भर्ना गरिएको तर उपचारकै क्रममा उनको मृत्यु भएको उनले जानकारी दिए।
घटनाबारे पर्सा प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।








