वीरगंज , ११ फागुन –
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को घुँडाको सफल शल्यक्रिया भएको छ। साम्बाले आज बिहान सामाजिक सञ्जालमार्फत आफ्नो घुँडाको शल्यक्रिया सफल भएको जानकारी गराएकी हुन्।
न्युजिल्यान्डको अकल्यान्डमा डाक्टर साइमनसहितको टोलीले शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो। अब डाक्टरको निगरानीमा पुनर्स्थापना प्रक्रिया सुरु हुने साम्बाले बताएकी छन्। अस्ट्रेलियाको ए लिगमा न्युजिल्यान्डको विलिङ्टन फिनिक्स क्लबबाट खेल्दै आएकी साम्बा तीन महिनाअघि ब्रिसबेन रोअरविरुद्धको खेलमा घाइते भएकी थिइन्।
उपचारका लागि ठूलो रकम आवश्यक परेपछि साम्बाले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेकी थिइन्। सुरुमा कतारमा उपचार गर्ने योजना रहे पनि खाडी क्षेत्रको अवस्थाका कारण अन्ततः न्युजिल्यान्डमै शल्यक्रिया गरिएको उनले जानकारी दिएकी छन्।









