जेनजी आन्दोलन : ओली, लेखक र खापुङमाथि फौजदारी अनुसन्धानको सिफारिश

वीरगंज , ११ फागुन –

भदौ २३ र २४ गते नवयुवा आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरी प्रमुख चन्द्रकुबेर खापुङलाई फौजदारी कसूरमा अनुसन्धान गर्न सिफारिश गरेको छ।

आयोगले भदौ २३ गते कर्फ्यू जारी हुनुअघि चार घण्टासम्म प्रदर्शनकारी र सुरक्षा निकायबीच भएको भीडन्त रोक्न पहल नगरेको निष्कर्षसहित उनीहरूलाई अनुसन्धानको सिफारिश गरेको जनाएको छ। आयोगले ओली, लेखक र खापुङमाथि लापर्वाहीपूर्ण काम गरी ज्यान मार्न नहुने तथा हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने कसूरमा कारबाही गर्न सिफारिश गरेको छ।

यस्तै, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाण्डौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि पनि हेलचेक्र्याइँपूर्ण काम गरी ज्यान मार्न नहुने कसूरमा कारबाही गर्न भनिएको छ।

प्रतिवेदनले नेपाली सेनाको भूमिकामाथि पनि प्रश्न उठाएको छ। स्थानीय प्रशासनले माग गरेको सहयोग नपाउँदा भीड नियन्त्रण गर्न नसकिने र बल प्रयोग हुँदा धेरैको ज्यान गएको तथा सयौँ घाइते भएको उल्लेख गरिएको छ।

यो प्रतिवेदन अहिलेसम्म सरकारले आधिकारिक रूपमा सार्वजनिक गरेको छैन। जनआस्था साप्ताहिकको अनलाइन संस्करणले आज बिहान प्रतिवेदनको सिफारिश खण्डका केही महत्त्वपूर्ण अंशहरू सार्वजनिक गरेको हो।

सम्बन्धित पोस्टहरुः