रंग मिथिला हेरिटेज एण्ड कल्चरल फेस्टिभल चैत १५ र १६ गते हुने

पर्सा, ११ चैत्र –

मिथिला कला, संस्कृति, संगीत तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले रंग मिथिला संस्थाद्वारा “रंग मिथिला हेरिटेज एण्ड कल्चरल फेस्टिभल” आयोजना गरिने भएको छ।

संस्थाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार महोत्सव आगामी चैत १५ र १६ गते काठमाडौँस्थित नेपाल पुलिस क्लबमा आयोजना हुनेछ। दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा मिथिला संस्कृतिका विविध पक्षलाई उजागर गर्ने कार्यक्रमहरू समावेश गरिने जनाइएको छ।

महोत्सवमा मिथिला चित्रकला प्रदर्शनी, लोकसंगीत, सांस्कृतिक नृत्य, एकल नृत्य प्रस्तुति, काव्य प्रस्तुति, युवा अन्तरक्रिया, सांस्कृतिक छलफल, छठ नृत्य प्रदर्शन लगायतका कार्यक्रमहरू आयोजना गरिनेछन्। साथै विभिन्न कलाकार, सांस्कृतिक व्यक्तित्व, विद्वान तथा संस्कृति प्रेमीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

आयोजकका अनुसार महोत्सवले मिथिला कला र संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुका साथै नयाँ पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ। महोत्सव सफल बनाउन कलाकार, संस्कृतिकर्मी, सञ्चारकर्मी तथा सरोकारवालालाई सहभागिताका लागि आयोजकले आग्रह गरेको छ।

सम्बन्धित पोस्टहरुः