वीरगंज , १२ फागुन –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट पर्साका चार जना प्रतिनिधिसभा सदस्यमध्ये तीन जनाले भोजपुरी भाषामा र एक जनाले नेपाली भाषामा पद तथा गोपनीयताको शपथ लिएका छन्।
पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित बुद्धिप्रसाद (हरि) पन्त, क्षेत्र नम्बर २ का सुशील कुमार कानु र क्षेत्र नम्बर ४ का टेकबहादुर शाक्यले भोजपुरी भाषामा शपथ लिएका छन्। क्षेत्र नम्बर ३ बाट निर्वाचित रामाकान्त प्रसाद चौरसियाले भने नेपाली भाषामा शपथ लिएका हुन्।
पन्तले आफ्नो मातृभाषा नेपाली भए पनि निर्वाचन क्षेत्रको भाषिक पहिचानलाई सम्मान गर्दै भोजपुरीमा शपथ लिएको बताएका छन्। सुशील कुमार कानुले भोजपुरीलाई आफ्नो मातृभाषा र पहिचानसँग जोड्दै यसलाई राष्ट्रिय स्तरमा स्थापित गर्ने प्रयासका रूपमा लिएको उल्लेख गरेका छन्। टेकबहादुर शाक्यले पनि भोजपुरी बाहुल्य क्षेत्रबाट निर्वाचित भएकाले सोही भाषामा शपथ लिएको जनाइएको छ।
यता, रामाकान्त प्रसाद चौरसियाको आफ्नो मातृभाषा भोजपुरी भए पनि नेपालीमै शपथ लिएका हुन् ।
संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिएका छन्। कार्यक्रममा भोजपुरीसहित नेपाल भाषा, मैथिली, थारु, तामाङ, डोटेली, बज्जिका, संस्कृत र बान्तवा लगायतका भाषामा शपथ लिने व्यवस्था गरिएको थियो।








