शक्तिपीठ गहवामाईको दोस्रो डोली यात्रा भव्यरूपमा निकालियो

वीरगंज, १२ चैत । वीरगंजको प्रसिद्ध शक्तिपीठ गहवामाई मन्दिरबाट बिहिवार दोस्रो डोली यात्रा भव्य रूपमा निकालिएको छ ।

चैते दशैंको अष्टमीको अवसरमा आयोजना गरिएको डोली यात्रामा हजारौं नरनारीहरुको सहभागिता भएको गहवामाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र साहले जानकारी गराएका छन् ।

दिउँसो २ बजे गहवामाईको डोली र निशानको विशेष पूजापछि अपरान्ह ४ बजे मन्दिर प्रांगणबाट डोली यात्रा शुरू भई २ नम्बर रोड, वीर्ता मन्दिर, अलखीयामठ, महावीरस्थान हुँदै माईस्थानको चोक परिक्रमा गरी पुनः गहवामाई मन्दिरमा आएर समापन भएको छ ।

भव्य यात्रामा सहभागी भक्तजनलाई गहवामाई माताको तस्बिर अंकित निशान वितरण गरिनुका साथै प्रति निशान ३५० रुपियाँँ शुल्क तोकिएको समितिले जनाएको छ ।

डोली यात्रापछि साँझ मन्दिर प्रांगणमा महाआरतीको कार्यक्रम पनि आयोजना गरिएको छ । अध्यक्ष साहले भक्तजनलाई भव्य रूपमा सहभागी भई आस्था र श्रद्धाका साथ गहवामाई माताको डोली यात्रा सफल पार्न आहवान गरेका छन् ।

सम्बन्धित पोस्टहरुः