काठमाडौँ, १२ चैतः राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले जित हासिल गरेको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले बागमती प्रदेशलाई सात विकेटले पराजित ग¥यो । बागमतीले दिएको २६६ रनको लक्ष्य पुलिसले ४४ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
पुलिसको जितमा ओपनर शङ्कर रानाले ११६ रनको शतकीय पारी खेले । उनले १२८ बलमा १३ चौका र चार छक्का प्रहार गरे । त्यस्तै दिनेश खरेलले ७५ बलमा आठ चौका र तीन छक्काको सहयोगमा ७० रनको अर्धशतकीय पारी खेले । त्यस्तै कप्तान आरिफ शेख ४३ तथा रशिद खान १० रनमा अविजित रहे ।
बलिङतर्फ बागमतीको रिजन ढकाल, सन्दीप लामिछाने र सुवास खत्रीले समान एक/एक विकेट लिए ।
टस हारेर पहिला ब्याटिङ गरेको बागमतीले ४९ दशमलब २ ओभरमा सबै विकेट गुमाउदै २६५ रन बनाएको थियो । उसका लागि पवन थापाले सर्वाधिक ७९ रन जोडे । उनले १०१ बलमा ६ चौका र एक छक्का प्रहार गरे । त्यस्तै इशान पाण्डेले ८० बलमा ७१ रन बनाए । आशुतोष घिरैयाले २२, उत्तम थापाले २१ तथा कप्तान सन्दीप लामिछानेले १३ रन जोडे ।
पुलिसका लागि दिनेश खरेल र रशिद खानले समान तीन/तीन विकेट लिए भने करण केसीले दुई विकेट लिए । प्रतियोगितामा तीन विभागीय टोलीसहित सात प्रदेशको सहभागिता छ । प्रतियोगिताको विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख प्राप्त गर्ने जनाइएको छ । रासस








