बालेन शाह आज प्रधानमन्त्रीको शपथ लिँदै

वीरगंज , १३ चैत्र –

बालेन्द्र शाह शुक्रबार दिउँसो प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिदै छन । शाहको सचिवालयका अनुसार आज शुक्रबार दिउँसो १२ बजेर ३४ मिनेटमा शपथ ग्रहण गर्ने र आजै दिउँसो २ बजेर १५ मिनेटमा सिंहदरबार पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम तय गरिएको छ।

शपथ ग्रहण कार्यक्रममा वैदिक तथा बौद्ध परम्पराअनुसार विशेष धार्मिक कार्यक्रमसमेत आयोजना गरिने जनाइएको छ। कार्यक्रमअनुसार ७ वटा शङ्खनाथ, १०८ जना वटुकबाट स्वस्ति शान्ति वाचन तथा १०८ जना बौद्ध भिक्षुबाट शुभ मङ्गलपाठ गर्ने कार्यक्रम राखिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बन्न लागेका शाह हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय राजनीतिमा प्रमुख शक्तिका रूपमा उदाएका हुन्। फागुन २१ गते भएको निर्वाचनमा रास्वपाले झन्डै दुईतिहाइ सिट जितेपछि शाहको नेतृत्वमा एकल सरकार गठन हुने भएको हो।

यसअघि स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका शाह पछि प्रधानमन्त्रीको दाबेदारसहित रास्वपामा प्रवेश गरेका थिए। चुनावमा रास्वपाको पक्षमा देखिएको जनलहरमा शाहको लोकप्रियता मुख्य कारण मानिएको छ।

मेयर रहँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग विभिन्न विषयमा विवादमा आएका शाहले यस पटक ओलीकै निर्वाचन क्षेत्र झापा–५ बाट चुनाव लडेर ठूलो मतान्तरले पराजित गरेका थिए। नयाँ सरकार गठनसँगै अब शाहले सुशासन, सेवा प्रवाह सुधार र आर्थिक सुधारलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।

सम्बन्धित पोस्टहरुः