पर्सा, १३ चैत्र –
आज चैत शुक्ल नवमीका दिन श्रद्धालुहरूले भगवान् श्रीरामचन्द्रको पूजा–आराधना गर्दै रामनवमी पर्व मनाइरहेका छन्। धार्मिक विश्वासअनुसार त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्रका रूपमा भगवान् रामको आजकै दिन जन्म भएको थियो। उहाँलाई भगवान् विष्णुको सातौँ अवतार मानिन्छ।
धर्मशास्त्रअनुसार रामनवमीले मर्यादित, अनुशासित र न्यायपूर्ण शासनको सन्देश दिन्छ। रामलाई ‘मर्यादा पुरुषोत्तम’ मानिन्छ, जसले आदर्श जीवनशैली र नैतिक मूल्यहरूको उदाहरण प्रस्तुत गर्नुभएको छ।
यस अवसरमा नेपालका जनकपुर र भारतको अयोध्यामा विशेष रामलीला प्रदर्शन हुन्छ भने भक्तजनहरूको ठूलो भीड लाग्ने गर्दछ। व्रत बस्ने, पवित्र नदी, ताल तथा कुण्डमा स्नान गर्ने र रामायण–वाल्मीकीय, तुलसीकृत वा भानुभक्तीय पाठ गर्ने परम्परा छ। रातभरि भजन–कीर्तन गर्दै भगवान् रामको आराधना गरिन्छ।
रामनवमी पर्व केवल धार्मिक आस्था मात्र नभई अनुशासन, आदर्श जीवन र न्यायपूर्ण समाज निर्माणको प्रेरणा दिने सांस्कृतिक पर्वका रूपमा पनि मानिन्छ। यस अवसरमा देशभर सार्वजनिक बिदा छ।









