वीरगंज , १३ चैत्र –
स्वर्णिम वाग्लेले अर्थमन्त्रीको पदभार ग्रहण गरेका छन । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेपछि उहाँले अर्थ मन्त्रालय पुगेर औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन् ।
पदभार ग्रहणपछि अर्थमन्त्री वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ का महत्त्वपूर्ण सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । आयोगको सिफारिसअनुसार राजस्व अनुसन्धान विभाग खारेज गर्ने तथा १५ वटा ऐन खारेज वा संशोधन प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।
उनले २०८२ चैत ११ सम्मको आर्थिक स्थितिपत्र पाँच दिनभित्र तयार पार्ने, सरकारको चुनावी वाचापत्र कार्यान्वयनका लागि १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना तयार पारिने बताए । निजी क्षेत्रको सुरक्षा र प्रवर्द्धन, ठूला विकास आयोजनाको सहजीकरण तथा प्रक्रियागत झन्झट हटाउन नयाँ विधेयक ल्याइने पनि उनले उल्लेख गरे।
अर्थमन्त्री वाग्लेले अर्थतन्त्रका समस्या समग्र रूपमा समाधान गर्ने नीति लिइने बताउँदै सार्वजनिक खर्च पुनरावलोकन आयोगको सिफारिस कार्यान्वयन, आन्तरिक उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा रूपान्तरणकारी बजेट निर्माणलाई प्राथमिकतामा राखिने बताए । साथै विद्युतीय शासन प्रणाली प्रवर्द्धन गर्दै ‘पेपरलेस’ र ‘क्यासलेस’ प्रणालीतर्फ अर्थ मन्त्रालयबाटै शुरुआत गरिने उनको भनाइ छ।
अन्तर्राष्ट्रिय परिस्थिति, विशेषगरी मध्यपूर्व क्षेत्रको अवस्थाले पार्न सक्ने प्रभावलाई सूक्ष्म रूपमा विश्लेषण गरी अन्तर–निकाय समन्वयमार्फत व्यवस्थापन गरिने पनि उनले बताए।
तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित वाग्ले अन्तर्राष्ट्रिय रूपमा परिचित अर्थशास्त्रीसमेत हुन। उनले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, विश्व बैंक, राष्ट्रिय योजना आयोग लगायत विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय संस्थामा काम गरिसकेका छन
नेपालको सुस्त आर्थिक वृद्धि, घट्दो राजस्व, बढ्दो सार्वजनिक ऋण र कमजोर विकास खर्च कार्यान्वयनजस्ता चुनौतीबीच अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका वाग्लेबाट आर्थिक सुधार, लगानी वृद्धि र रोजगारी सिर्जनामा ठोस पहल हुने अपेक्षा गरिएको छ।








