रामनवमीको अवसरमा जगरनाथपुर मेला तथा विराट दङ्गल प्रतियोगिता सम्पन्न

वीरगंज – रामनवमीको पावन अवसरमा वीरगंज महानगरपालिका वडा नं. २२ जगरनाथपुरस्थित बौद्धिक माई मन्दिर परिसरमा भव्य मेला तथा विराट दङ्गल (कुस्ती) प्रतियोगिता सम्पन्न भएको छ। हरेक वर्षझैं यस वर्ष पनि स्थानीय बासिन्दाको सक्रिय सहयोग तथा वडा कार्यालयको आर्थिक सहकार्यमा मेला धुमधामका साथ आयोजना गरिएको हो।

वडा अध्यक्ष द्वारिका महतोका अनुसार जगरनाथपुरवासीको एकता र सांस्कृतिक परम्परालाई जगेर्ना गर्ने उद्देश्यले मेला तथा दङ्गल प्रतियोगिता आयोजना गरिएको हो। कार्यक्रममा वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले दङ्गल प्रतियोगिताको उद्घाटन गरेका थिए।

प्रतियोगितामा नेपालका लुम्बिनी प्रदेश, पर्सा–बारा क्षेत्रका साथै भारतका बिहार, उत्तर प्रदेश, दिल्ली, हरियाणा र पञ्जाबबाट आएका चर्चित पहलवानहरूले प्रतिस्पर्धात्मक कुस्ती प्रदर्शन गरेका थिए। आकर्षक प्रतिस्पर्धाले दर्शकलाई रोमाञ्चित बनाएको थियो।

कुस्ती अवलोकन गर्न जगरनाथपुर, पटेलनगर, बगही, लालप्रसाद, भवानीपुर, सौराहा, पर्साउने लगायत आसपासका गाउँबाट सयौं खेलप्रेमी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

मेला तथा दङ्गल प्रतियोगिताले स्थानीय संस्कृति संरक्षणसँगै खेलकुदप्रति युवाको आकर्षण बढाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

सम्बन्धित पोस्टहरुः