वीरगंज, १४ चैत्र –
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १९औँ संस्करण आजदेखि सुरु हुँदैछ। उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे बेङ्गलुरुमा सुरु हुनेछ। रोयल च्यालेन्जर्स बेङ्गलुरु साविक विजेता टोली हो।
यस सिजनमा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा चेन्नई सुपर किंग्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बेङ्गलुरु र पञ्जाब किंग्स रहेका छन्।
समूह ‘बी’ मा मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद, गुजरात टाइटन्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स रहेका छन्।
आईपीएलमा सहभागी टोलीमध्ये पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सले अहिलेसम्म उपाधि जित्न सकेका छैनन् भने अन्य टोलीहरूले कम्तीमा एकपटक उपाधि जितिसकेका छन्। यसपटकको संस्करणमा पनि प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।








