वीरगंज, १६ चैत्र –
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै अखिल नेपाल पिछडा वर्ग (ओबीसी) ले वीरगंजमा विरोध प्रदर्शन गरेको छ। आज दिउँसो वीरगंजको घण्टाघर चौकमा आयोजित प्रदर्शनमा १०–१२ जना ओबीसीका कार्यकर्ताहरू सहभागी थिए।
कार्यक्रममा अध्यक्ष ओलीलाई शनिबार बिहान प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेपछि ओबीसी महासंघका केन्द्रीय अध्यक्ष तेजप्रकाश निसादको नेतृत्वमा कार्यकर्ताहरू चौकमा पुगेका थिए। उनीहरूले ओलीको अविलम्ब रिहाइ, कानुनी प्रक्रियामा निष्पक्षता र लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्न सरकारसँग आग्रह गरेका छन्।
प्रदर्शनकारीहरूले गृहमन्त्री सुधन गुरुङ र प्रधानमन्त्री बालेन्द्र शाहको बिरुद्धमा नारावाजी गर्दै भादौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मारिएका विद्यार्थीहरूको घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गर्न समेत माग गरेका थिए।








