वीरगंज, १४ चैत्र –
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नु अपरिपक्व निर्णय भएको बताएकी छन्। शनिबार विज्ञप्ति जारी गर्दै उनले यस्तो निर्णय वर्तमान संविधान, प्रचलित कानुन तथा स्थापित लोकतान्त्रिक अभ्याससँग मेल नखाने बताएकी हुन्।
उनले भाद्र २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरिएको आयोगको प्रतिवेदन वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यान्वयन गर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन्।
कार्की आयोगको प्रतिवेदन पूर्ण नभएको विभिन्न अध्ययनबाट देखिएको सन्दर्भमा सरकार गठन भएको पहिलो दिनमै उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै पक्राउ गर्नु अत्यन्त संवेदनशील र दूरगामी प्रभाव पार्ने विषय भएको उनले उल्लेख गरेकी छन्।
उनले कुनै पनि जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया, पर्याप्त अध्ययन तथा संस्थागत परामर्श आवश्यक हुने बताउँदै हतारमा गरिएको निर्णयले विधिको शासनप्रति जनविश्वास कमजोर बनाउन सक्ने र मुलुकमा अस्थिरताको जोखिम बढ्न सक्ने चेतावनी दिएकी छन्।
सुशासनलाई मुख्य एजेन्डा बनाएर गठन भएको सरकारले यस्तो अपरिपक्व कदम चाल्नु दुःखद् भएको उल्लेख गर्दै उनले लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक मर्यादाको सम्मान गर्दै उक्त निर्णय पुनर्विचार गर्न सरकारलाई आग्रह गरेकी छन्। साथै उनले संयमता अपनाएर विधि र प्रक्रियाअनुसार अघि बढ्न र मुलुकको स्थायित्व तथा लोकतान्त्रिक प्रणालीको संरक्षणतर्फ गम्भीर हुन सरकारलाई सुझाव दिएकी छन्।








