सरकार संयमित नभए देश पुनः अस्थिरतातर्फ जानसक्ने कांग्रेसको चेतावनी

वीरगंज, १४ चैत्र –

नेपाली कांग्रेसले सरकार संयमित नभए देश पुनः द्वन्द्व र अस्थिरतातर्फ जानसक्ने चिन्ता व्यक्त गरेको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि शनिबार कांग्रेस प्रवक्ता देवराज चालिसेले पाँच बुँदे धारणा सार्वजनिक गर्दै सरकार उत्तेजनामा आउन नहुने बताएका हुन्।

कांग्रेसले भदौ २३ र २४ का घटनाका सम्बन्धमा सम्बन्धित व्यक्ति तथा संस्थाहरूको निष्पक्ष, पारदर्शी र विधिसम्मत ढंगले अनुसन्धान, अभियोजन लगायत सम्पूर्ण कानुनी प्रक्रिया अगाडि बढाइनुपर्ने स्पष्ट पारेको छ। साथै भदौ २३ गतेको घटनासँगै २४ गते भएको आगजनी र विध्वंसमा संलग्न को–को थिए भन्ने विषय पनि सार्वजनिक हुनुपर्ने कांग्रेसको धारणा रहेको छ।

दुवै दिनको घटनामा संलग्न जोसुकै भए पनि कानुनअनुसार कारबाही हुनुपर्ने र त्यसमा पार्टीको सहयोग रहने कांग्रेसले जनाएको छ। तर कारबाही आवेग र उत्तेजनामा नभई कानुनी प्रक्रिया बमोजिम हुनुपर्नेमा कांग्रेसले जोड दिएको छ।

सरकार स्वयं संयमित र परिपक्व नभई हतारमा निर्णय गर्दा कानुनको शासन कमजोर हुनसक्ने तथा देश पुनः द्वन्द्व र अस्थिरतातर्फ जानसक्ने चेतावनी दिँदै कांग्रेसले यस विषयमा गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ।

सम्बन्धित पोस्टहरुः