वीरगंज , १६ चैत्र –
लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्मा लाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गएराति धुम्बाराहीस्थित निवासबाट नियन्त्रणमा लिएको हो।
२०८१ जेठमा काठमाडौं महानगरपालिका ले शर्माको घरबाट एक नाबालिकाको उद्धार गरेको थियो। दाङकी ती बालिकालाई घरेलु कामदार बनाइ हिंसा गरेको आरोप उनीमाथि लागेको थियो। त्यसबेला तत्कालीन मेयर रहेका हालका प्रधानमन्त्री बालेन्द्र शाह ले सार्वजनिक रूपमा उक्त घटनाबारे प्रश्न उठाएका थिए।
शर्मामाथि नाबालिकालाई कुटपिट गरेको, बाहिर निस्किन नदिएको तथा बसोबासको उचित व्यवस्था नगरेको जस्ता आरोप लगाइएको छ। उक्त घटनापछि महानगरपालिकाले बालबालिका सम्बन्धी ऐनअनुसार कारबाहीको माग गर्दै जिल्ला प्रहरी परिसरमा जाहेरी दिएको थियो।
जाहेरी दिएको लामो समयसम्म पनि पक्राउ नपरेको भन्दै प्रधानमन्त्री शाहले त्यसबेला सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका थिए। पछि २०८१ माघमा मुद्दा नचल्ने निर्णय भए पनि पछिल्लो घटनाक्रमसँगै शर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घटनाको विवरणः
काठमाडौं महानगरपालिकामा प्रशिक्षार्थी रहेका केही विद्यार्थीले काठमाडौंको सामुदायिक विद्यालयमा पढिरहेका तर बाबुआमा साथमा नभएका बालबालिका वारे सर्वेक्षण गरिरहेका थिए। त्यसक्रममा ती नाबालिका अध्ययनरत विद्यालयमा पुगेर सर्वेक्षण गर्दा उनलाई काममा लगाइएको र श्रमशोषण भएको खुलाएकी थिइन्।
६ वर्षदेखि सांसद शर्माको घरमा रहेर काम गरिरहेकी ती नाबालिकले आफूमाथि कुटपिट हुने गरेको बताएकी थिइन्।
घरधनी (प्रदेश सांसद रेखा कुमारी शर्माको परिवार)ले हात र पाइपले पिट्ने गरेको भन्दै नाबालिकाले घरमा पोछा लगाउँने, खाना बनाउने, बिरूवामा पानी हाल्ने लगायतका काम गर्नुपरेको खुलाएकी थिइन्।
उनले ६ वर्षदेखि परिवार भेट्न नपाएको र दशैंमा समेत घर जान नदिएको गुनासो गरेकी थिइन्। सर्वेक्षणका कागजात परीक्षणका क्रममा इजलासले नाबालिकासँग गोप्य रूपमा समेत कुराकानी गरेको थियो। उनलाई यातना समेत दिएको भेटिएपछि काठमाडौं महानगरपालिकाले प्रदेश सांसद शर्मा विरूद्ध प्रहरीमा उजुरी दिएको थियो।
नाबालिकाको अवस्था दयनीय भएको भेटिएपछि महानगरपालिकाको कार्यदलले तत्काल ती बालिकाको उद्धार गरी संरक्षण गृहमा राखेको थियो। बालिकाको उद्धारका क्रममा महानगरपालिकाको नगर प्रहरी, वडाका प्रतिनिधि र नेपाल प्रहरी समेत घटनास्थलमा पुगेर मुचुल्का गराएका थिए।
छोरीको उद्धार गरेको भेटिएपछि ती नाबालिकाका बाबु काठमाडौंमा आएर सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए।
Post Views: 42