अनैतिक कार्य गरेको आरोपमा मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ

वीरगंज, १८ चैत । मधेस विश्वविद्यालयमा कार्यरत एकजना कर्मचारीलाई प्रहरीले अनैतिक कार्य गरेको आरोपमा पक्राउ गरेको छ ।
एक छात्रालाई अनैतिक सम्बन्ध स्थापना गर्न दबाब दिएको आरोपमा विश्वविद्यालयका कर्मचारी मोहम्मद राजु राउत गद्दी पक्राउ परेका हुन।गद्दीले अनैतिक सम्बन्ध राख्न गरेको प्रस्ताव ती छात्राले अस्वीकार गरेपछि गद्दीले परीक्षामा अङ्क घटाउने धम्की दिएको तथा स्वीकार गरेमा विभिन्न सुविधा दिने प्रलोभन देखाएको आरोपमा पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार, विश्वविद्यालयका कर्मचारी गद्दीले पीडित छात्रालाई शुरूमा सहयोगको बहानामा सम्पर्क बढाएका थिए । पछि फोन तथा सामाजिक सञ्जालमार्पत अनुपयुक्त सन्देश पठाउँदै निरन्तर मानसिक दबाब सिर्जना गरेको र प्रस्ताव अस्वीकार गरेपछि शैक्षिक भविष्य प्रभावित पार्ने धम्की दिएको आरोप लागेको छ ।
पीडित छात्राले दिएको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय पर्सामा चैत १४ गते उजुरी दर्ता भएको थियो । उजुरी दर्ता भएपछि आरोपित फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले खोजतलासका क्रममा उनलाई नियन्त्रणमा लिएको हो ।
पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले आरोपितमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी गराएका छन् ।
सम्बन्धित पोस्टहरुः