यसरी हुन्छ गर्भवती महिलाहरूको कलैया अस्पतालबाट अपहरण

वीरगंज, १८ चैत ।  बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकास्थित प्रादेशिक अस्पतालमा चिकित्सकहरूले बिरामीलाई अपहरण गरेर आफ्नो निजी अस्पताल, क्लिनिकमा लैजाने गरेको घटना प्रकाशमा आएको छ।
खासगरी अहिले बालरोग विशेषज्ञ डा रामनिवास साहमाथि बिरामीलाई निजी अस्पतालमा लैजाने गरेको आरोप लागेको हो। उनले अस्पतालमा आउने सामान्य अवस्थाका बिरामीलाई ज्यान जोखिममा भएको डर, भय–त्रास देखाउँदै निजी अस्पताल लैजान दबाब दिने गरेको सेवाग्राहीहरूले आरोप लगाएका छन।
प्रादेशिक अस्पताल कलैयामा आमा सुरक्षा कार्यक्रम लागू छ। यस अन्तर्गत गर्भवतीदेखि सुत्केरी हुनजेल सरकारले सेवा सुविधा प्रदान गर्ने गर्छ। अस्पतालमा आमा सुरक्षा कार्यक्रम अन्तर्गत गर्भवती महिलाको स्वास्थ्य परीक्षण र सुत्केरी भएपछिको औषधीसमेत सम्पूर्ण खर्च सरकारले बेहार्नुका साथै अस्पतालबाट डिस्चार्ज भएपछि यातायात र पौष्टिक आहारबापत नगद पनि दिने गरेको छ।
हालैको एउटा घटनामा डा साहले अस्पतालमा सेवा लिन आएकी गर्भवती महिलालाई दुर्ई सातासम्म आफ्नो अस्पतालमा भर्ना गरेर एक लाख १४ हजार बुझेको घटना बाहिरिएको छ। डा साह प्रादेशिक अस्पतालका एक मात्र बालरोग विशेषज्ञ हुन। अस्पतालमा नवजात शिशुका लागि एनआइसियुको व्यवस्था भए पनि उनले अस्पतालमा सो सेवा नभएको भनेर त्यहाँ आउने गर्भवती महिलाहरूलाई बच्चा उल्टो छ, आन्द्रामा बेरिएको छ र सामान्य डेलिभरीबाट जोखिम हुन सक्नेजस्ता डर देखाउने गरेको सेवाग्राहीको आरोप छ। यसवारे छानबीन शुरू भएको अस्पताल स्रोतले जनाएको छ।
यसैगरी अस्पतालमा असाध्य रोगबाहेक सबै किसिमका रोग परीक्षणका लागि प्रयोगशालाको व्यवस्था छ। तर डा. राहुल मण्डलको आदेशमा अस्पतालमा आउने बिरामीहरूलाई अन्यत्र निजी प्रयोगशालामा पठाउने गरिएको छ। दैनिक सयौं बिरामी अस्पतालको प्रयोगशालामा विभिन्न जाँच गराउन आउने गरेको र उनीहरूलाई अस्पतालको सेवा प्रभावकारी नभएको भनेर बढी मोलमा निजी अस्पतालमा पठाउने गरिएको अनुसन्धानबाट खुलेको छ। सेवाग्राहीहरूले पनि यसवारे गुनासो गरेपछि अहिले अस्पतालले अनुसन्धान शुरू गरेको छ।
सबैथरीका औषधी अभाव
प्रादेशिक अस्पताल कलैयामा प्रदेश सरकारले चालू आवमा औषधीहरू नपठाएको कारण औषधी अभाव भएको छ। सरकारले ९८ थरीका औषधी निश्शुल्क उपलब्घ गराउँदै आएको छ। तर प्रादेशिक अस्पतालमा प्रदेश सरकारले चालू आवमा औषधी नपठाएको कारण अहिले २२ थरीका औषधीहरू पनि सहज उपलब्ध नरहेको सेवाग्राहीहरूले बताएका छन। उनीहरूले सरकारले निश्शुल्क उपलब्ध गराउने औषधीसँगै स्वास्थ्य बीमामा उपलब्ध हुनुपर्ने औषधीहरूको पनि अभाव हुँदै गएको र अस्पताल प्रशासन यसवारे मौन देखिएको आरोप लगाएका छन।
सेवाग्राहीहरूले बीमाबापतको औषधीहरू अहिले चिकित्सकले लेखेका सबैथरी पाउन छाडेको बताउँछन। अस्पताल प्रशासनले भने प्रदेशबाट औषधी नआएको र अनुदान सहयोग पनि आउन नसक्दा औषधी खरीद प्रक्रिया रोकिएको बताएको छ। केही औषधीहरू अस्पतालले खरीद गर्दै बीमित बिरामीहरूलाई उपलब्ध गराउनुपर्नेमा रकम नआएको बहानामा खरीद गरिएको छैन।
रेविजविरूद्ध सुई पनि छैन
अस्पतालमा रेविजविरूद्ध सुईको अभाव भएको छ। तीन महीनादेखि प्रदेश सरकारले सुई उपलब्ध नगराउँदा सुई बाहिर औषधी पसलहरूबाट खरीद गरेर सेवाग्राहीहरूले प्रयोग गर्दै आएका छन।
सम्बन्धित पोस्टहरुः