वीरगंज , १९ चैत्र –
देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहीबार विहान ८ बजेदेखि सुरु हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सुरु भएकै दिनदेखि उत्तरपुस्तिका परीक्षण पनि सुरु गर्ने तयारी गरेको छ भने वैशाख मसान्तसम्म नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।
यस वर्ष एसईई परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी हुँदै छन्। तीमध्ये २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य परीक्षार्थी रहेका छन्। परीक्षाका लागि देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएको छ। जापानस्थित एभरेस्ट स्कुलबाट समेत २३ विद्यार्थीले परीक्षा दिने भएका छन्। परीक्षाका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मी गरी करिब ७३ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको छ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार उत्तरपुस्तिका सम्बन्धित परीक्षा केन्द्रमै परीक्षण गरिने व्यवस्था मिलाइएको छ। परीक्षा सकिएको विषयको उत्तरपुस्तिका तीन दिनभित्र परीक्षण गर्ने निर्णय गरिएको जनाइएको छ।
यसैबीच पर्सा जिल्लाबाट यस वर्ष एसईई परीक्षामा १० हजार ७०३ विद्यार्थी सहभागी हुने भएका छन्। शिक्षा विकास तथा समन्वय इकाइ पर्साका अनुसार जिल्लाका १५३ विद्यालय (७० सामुदायिक र ८३ संस्थागत) बाट विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। परीक्षाका लागि जिल्लामा २७ वटा परीक्षा केन्द्र तोकिएका छन्, जसमा १४ वटा ग्रामीण र १३ वटा सहरी क्षेत्रमा रहेका छन्।
परीक्षा व्यवस्थापनका लागि पर्सामा १ हजार ३०४ जना जनशक्ति परिचालन गरिएको छ। यसमा २७ जना केन्द्राध्यक्ष, ५८ जना सहायक केन्द्राध्यक्ष, ५२३ जना निरीक्षक, ९२ जना परीक्षा सहायक, १९९ जना कार्यालय सहयोगी र ४०५ जना सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ।









