आजदेखि संघीय संसद् अधिवेशन सुरु हुँदै

वीरगंज , १९ चैत्र –

गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावपछिको पहिलो संघीय संसद् अधिवेशन आजदेखि सुरु हुँदैछ। प्रतिनिधिसभा बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय हलमा दिउँसो २ बजे बस्ने तय भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा चैत १६ गते आजका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो। संसद् सचिवालयका अनुसार बैठक सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ। राष्ट्रियसभाको बैठक भने संघीय संसद् सचिवालयको राष्ट्रियसभा कक्षमा बस्नेछ।

आजको प्रतिनिधिसभा बैठकमा तीन वटा अध्यादेश पेस हुने सम्भावित कार्यसूची रहेको छ। बैठकमा मतदाता नामावली संशोधन, प्रतिनिधिसभा सदस्य निर्वाचन संशोधन र नेपाल विशेष सेवा संशोधनसम्बन्धी अध्यादेश पेस गरिने जनाइएको छ। साथै, बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाइनेछ।

यसैबीच हिजो बसेको सर्वदलीय बैठकले सभामुख निर्वाचन आउँदो आइतबार गर्ने निर्णय गरेको छ। संविधानअनुसार पहिलो अधिवेशन सुरु भएको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ। सभामुख र उपसभामुखमध्ये एक महिला र दुवै फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

सम्बन्धित पोस्टहरुः