वीरगंज , १९ चैत्र –
जेनजी आन्दोलन दमनसम्बन्धी मुद्दामा पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बयान अस्पतालमै लिन सुरु गरिएको छ। स्वास्थ्य समस्याका कारण अस्पतालमै राखेर बयान लिन सुरु गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ओली पक्राउ परेदेखि नै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्। सोही अस्पतालमा जिल्ला सरकारी वकिल कार्यालयको टोली र अनुसन्धान अधिकृत प्रहरीद्वारा बयान लिइरहेको जनाइएको छ।
यता पूर्व गृहमन्त्री रमेश लेखकको बयान भने सकिएको छ। उनले बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा उपस्थित भएर बयान दिएका थिए।
पक्राउ परेपछि पहिलो पटक थपिएको पाँच दिनको म्याद आज बिहीबार सकिएकाले उनीहरूविरुद्ध दोस्रो पटक म्याद थप्ने तयारी पनि प्रहरीले गरेको छ। दुवै जनाको म्याद थप प्रक्रिया भिडियो सम्मेलनमार्फत गर्ने तयारी रहेको प्रहरीले जनाएको छ।
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन दमनसम्बन्धी घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा आयोग गठन गरिएको थियो। उक्त आयोगले ओली र लेखकलाई ज्यानसम्बन्धी कसुरमा कारबाही गर्न सिफारिस गरेपछि सरकारको निर्णयअनुसार गत शनिबार उनीहरू पक्राउ परेका हुन्। त्यसयता उनीहरू हिरासतमा रहेका छन्।









