वीरगंज , २० चैत्र –
रामबहादुर थापा बादलले प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्तिप्रति एमालेकै नेताहरूले आपत्ति जनाएका छन्। बादलको अभिव्यक्ति पार्टीको स्थापित नीति र मान्यताविपरीत भएको भन्दै नेताहरूले सार्वजनिक रूपमा टिप्पणी गरेका हुन्।
पार्टीका उपाध्यक्ष विष्णु पौडेल ले सामाजिक सञ्जालमार्फत उक्त विषयमा आज बस्ने पार्टी केन्द्रीय सचिवालय बैठकमा गम्भीर छलफल हुने बताउनुभएको छ।
यस्तै उपमहासचिव योगेश भट्टराई ले नेपाली सेना, न्यायालय, संवैधानिक निकाय र कर्मचारीतन्त्रप्रति एमालेको कुनै वैरभाव नरहेको स्पष्ट पार्नुभएको छ। ती संस्थाप्रति एमालेको सम्मान र विश्वास कायम रहने उहाँको भनाइ छ।
संसद बैठकमा नेता बादलले नेपाली सेना, कर्मचारीतन्त्र, न्यायालय, विभिन्न आयोग तथा गैरसरकारी संस्थाहरूको भूमिकाका कारण राष्ट्रिय स्वतन्त्र पार्टी ले अभूतपूर्व जित हासिल गरेको भन्दै अभिव्यक्ति दिएपछि पार्टीभित्रै विवाद उत्पन्न भएको हो।









