सभामुखमा डीपी अर्याल निर्विरोध, घोषणा आइतबार हुने

वीरगंज , २० चैत्र –

प्रतिनिधिसभाको सभामुखमा रास्वपा सांसद डा. डोलप्रसाद (डीपी) अर्याल निर्विरोध भएका छन्। यद्यपि, उनको निर्वाचित घोषणा आगामी आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा हुनेछ।

सभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो। निर्धारित अवधिमा अर्यालको एकल उम्मेदवारी परेको थियो। प्रतिनिधिसभा नियमावलीको नियम ७ अनुसार एक मात्र उम्मेदवार परेमा सभामुख निर्विरोध निर्वाचित घोषणा गरिन्छ।

प्रतिनिधिसभामा रास्वपा दुई तिहाइ बहुमतको दल भएकोले प्रतिपक्षी दलले सभामुखमा उम्मेदवारी दिएनन्। २७५ सदस्यीय संसद्‍मा रास्वपाका १८२ सांसद रहेका छन्। नेपाली कांग्रेस ३८, नेकपा एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७ र राप्रपा ५ सांसदसहित अन्य दल छन्।

सभामुख चयन भएसँगै उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ। उपसभामुख फरक दल र फरक लिंगको व्यक्ति हुनुपर्ने व्यवस्था छ। निर्वाचित सभामुखले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने छ भने उपसभामुखले सभामुख समक्ष शपथ लिने व्यवस्था छ।

उपसभामुखको पद कसको हुनेछ भन्ने विषयमा राजनीतिक दलहरूबीच छलफल भइसकेको छैन। संवैधानिक परिषद्को सदस्य हुने भएकाले यो पद संवैधानिक निकायहरूमा सिफारिस प्रक्रियामा पनि प्रभाव पार्ने छ।

सम्बन्धित पोस्टहरुः