नयाँ सरकारको आर्थिक रुपान्तरण पहिलो प्राथमिकता : अर्थमन्त्री वाग्ले

पर्सा, २० चैत्र –

संघीय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँ सरकारले देशको आर्थिक रुपान्तरणलाई प्रमुख एजेन्डा बनाएको बताएका छन्। उनले शुक्रवार पर्सा र बाराका उद्योगी व्यवसायीसँग अन्तरक्रिया कार्यक्रममा मुलुकको अर्थतन्त्रलाई सबल बनाउने, राजस्व व्यवस्थामा सुधार गर्ने र निजी क्षेत्र मैत्री नीति लागू गर्ने लक्ष्य औँल्याए।

मन्त्री वाग्लेका अनुसार सरकारले तत्काल केही निकाय खारेज गरी काम सुरु गरिसकेको छ भने उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयनपछि आर्थिक बेथिती समाप्त हुने अपेक्षा गरिएको छ। उनले भने, “यो त कास्टिङ मात्रै हो, पूरा फिल्म अझ हेर्न बाँकी छ। नीति सही छ र नियत पनि सफा छ।”

अर्थमन्त्री वाग्लेले आगामी बजेटलाई आर्थिक रुपान्तरण र निजी क्षेत्र मैत्री बनाउने आधारमा तयार पार्ने र करको बोझ तथा प्रकृयागत झन्झट हटाउने बताए। उनका अनुसार सरकारको पहिलो प्राथमिकता सुशासन, दोस्रो मध्यम वर्गाको जीवनस्तर सुधार (शिक्षा, स्वास्थ्य, वित्तीय पहुँच) र तेस्रो रोजगारी सिर्जना रहेको छ।

कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले उद्योगी व्यवसायीका नीतिगत र व्यवहारिक समस्या उल्लेख गर्दै औद्योगिक क्षेत्र स्थापना, कर असुली सुधार र सीमा क्षेत्रको अवैध कारोबार रोक्ने उपाय अपनाउन आग्रह गरे। कार्यक्रममा राजस्व सचिव, पर्साका सांसद र स्थानीय उद्योगी व्यवसायीहरू पनि उपस्थित थिए।

सम्बन्धित पोस्टहरुः