वीरगंज , २१ चैत्र –
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ ले ऊर्जा क्षेत्र सुधारका लागि नीतिगत कामलाई प्राथमिकता दिइने बताएका छन्। नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) का पदाधिकारीहरूसँग शुक्रबार भएको छलफलमा उनले ऊर्जा क्षेत्रमा सम्भावनासँगै चुनौतीहरू रहेको उल्लेख गर्दै सरकार सुधारतर्फ अघि बढिरहेको स्पष्ट पारे।
मन्त्री श्रेष्ठले ऊर्जा उत्पादनसँगै खपत रणनीतिलाई समान रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै घरेलु तथा औद्योगिक मागको यथार्थ अध्ययन आवश्यक रहेको बताए। उनले ऊर्जा क्षेत्रलाई उत्पादनसँग जोडेर आर्थिक विकासको आधार बनाउनुपर्ने उल्लेख गर्दै ‘ऊर्जा कच्चा पदार्थ भएकाले यसलाई उत्पादनसँग जोड्नुपर्छ’ भन्ने धारणा व्यक्त गरे।
सरकारको भूमिका सहजीकरणमा केन्द्रित रहने बताउँदै उनले निजी क्षेत्रलाई विकासमा अग्रसर बनाउने नीति लिइने बताए। निजी क्षेत्रको सहभागिता बढाउँदै बहुआयामिक दृष्टिकोणबाट ऊर्जा क्षेत्रलाई अघि बढाइने उल्लेख गर्दै उनले उद्यमीलाई समस्या मात्र होइन समाधानसहित आउन आग्रह गरे। ‘इकोनमी डिप्लोमेसी’लाई ऊर्जा विकासको महत्वपूर्ण साधनका रूपमा प्रयोग गर्नुपर्नेमा समेत उनले जोड दिए।
मन्त्री श्रेष्ठले विद्युत् नीति ल्याउने तयारी भइरहेको जानकारी दिँदै निजी क्षेत्रबाट स्पष्ट कार्ययोजनासहित सुझाव मागिएको बताए। ऊर्जा सुरक्षाका लागि सरकार र निजी क्षेत्रबीच सहभागितामूलक मोडल आवश्यक रहेको उनले उल्लेख गरे।
छलफलमा निक्कीले जलविद्युत् क्षेत्रमा नीतिगत प्राथमिकता परिवर्तन, लगानीमैत्री वातावरण निर्माण र स्वीकृति प्रक्रिया सरल बनाउनुपर्ने सुझाव दिएको छ। संघका अध्यक्ष सुनिल केसी ले अपेक्षाभन्दा कम भारतीय लगानी आएको उल्लेख गर्दै सुधारको आवश्यकता औंल्याए।
निक्कीले प्रसारण पूर्वाधार र विद्युत् व्यापारलाई प्राथमिकता दिने रणनीति आवश्यक रहेको बताउँदै नयाँदिल्लीमा ‘नेपाल–भारत ऊर्जा फोरम’ आयोजना गर्ने प्रस्ताव पनि अघि सारेको छ। साथै, लामो समयदेखि रोकिएको विद्युत् व्यापार अनुमति प्रक्रिया अगाडि बढाउन माग गरिएको छ।







