वीरगंज , २१ चैत्र –
विश्व हिन्दू परिषद् नेपाल वीरगञ्जले प्रत्येक वर्षझैँ यस वर्ष पनि श्री हनुमान जन्मोत्सवको अवसरमा भव्य शोभा यात्रा आयोजना गरेको छ। आज दिउसो २ बजे वीरगञ्जको घण्टाघरबाट सुरु भएको यात्रा माईस्थान मन्दिर, हनुमान मन्दिर, विर्तामाई मन्दिर, छप्कैया छठघाट, रेल्वे रोड, अमर चौक, पञ्चमुखी हनुमान मन्दिर, रामटोल हुँदै गहवा पुगेर पुनः घण्टाघरमा समापन हुनेछ।
आयोजकका अनुसार करिब ३० हजार भक्तजन सहभागी हुने अनुमान गरिएको छ भने कार्यक्रमलाई व्यवस्थित गर्न करिब २ हजार स्वयंसेवक परिचालन गरिएको छ। शोभा यात्राको सुरक्षा र व्यवस्थापनका लागि वीरगञ्ज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायहरूसँग आवश्यक समन्वय गरिसकिएको छ।
विश्व हिन्दू परिषद् नेपाल वीरगञ्जले यस वर्ष अघिल्ला वर्षहरूको अनुभवलाई आधार बनाएर कार्यक्रमलाई थप सुरक्षित, व्यवस्थित र आकर्षक बनाउने तयारी गरेको बताएको छ। विभिन्न हिन्दू संघसंस्था र धार्मिक संस्थाहरूको पनि सक्रिय सहकार्य रहेको छ ।



