वीरगंज , २१ चैत्र –
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले आज कर्णाली प्रदेशलाई १० विकेटले हराएको छ।
जनकपुरधाममा भएको खेलमा कर्णालीले टस जितेर ब्याटिङ गर्दै २६ ओभरमा १० विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो। कर्णालीका अर्जुन घर्तीले सर्वाधिक ३८ रन बनाए। एपीएफका कमल ऐरी र अभिषेक गौतमले समान ४–४ विकेट लिए।
एपीएफले तोकिएको १०८ रनको लक्ष्य पछ्याउँदा १२ ओभरमा कुनै विकेट गुमाएन। एपीएफका आसिफ शेखले अविजित ६५ र दीपक बोहराले अविजित ४२ रन बनाएर टोलीलाई सहज जित दिलाए।
प्रतियोगितामा यो एपीएफको दोस्रो जीत हो। एपीएफ ६ खेलमा ५ अंकसहित छैटौं स्थानमा रहेको छ भने कर्णाली ३ अंकसहित आठौं स्थानमा छ।
वीरगञ्जमा अर्को खेलमा गण्डकी प्रदेश र कोशी प्रदेशबीच प्रतिस्पर्धा जारी छ। गण्डकीले दिएको २ सय २८ रनको लक्ष्य कोशीले पछ्याइरहेको छ। प्रतियोगितामा १० टोली सहभागी छन्।



