वीरगंज , २२ चैत्र –
शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा बयानका लागि नियन्त्रणमा लिइएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार अग्रवाललाई विभागमा बयानका लागि बोलाइएको थियो र शुक्रबार राति पक्राउ गरिएको हो।
अग्रवाल २०७६ सालमा ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्ने प्रयास गरेको आरोपमा पनि पक्राउ परेका थिए, तर पछि तारेखमा रिहा भएका थिए।
यसअघि शुक्रबार शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि पक्राउ परेका थिए। व्यापारी दीपक भट्ट पक्राउ परेसँगै विभागले समूहसँग जोडिएका अन्य व्यक्तिमाथि अनुसन्धान सुरु गरेको छ।
शंकर ग्रुप नेपालको एक अग्रणी व्यावसायिक समूह हो, जसको मुख्य कम्पनी जगदम्बा स्टिल हो। समूहले स्टिल, सिमेन्ट, जलविद्युत् र उपभोक्ता वस्तु क्षेत्रमा लगानी गरेको छ।









