वीरगंज , २२ चैत्र –
नेपाल सरकारको शासकीय सुधार कार्यक्रमअनुसार अनलाइन सट्टेबाजीसम्बन्धी सात हजारभन्दा बढी एप र वेबसाइट बन्द भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी अवैध रूपमा सञ्चालनमा रहेका यस्ता एप र वेबसाइटहरू पहिचान गरी बन्द गरेको हो।
उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार, पछिल्लो एक सातामा प्राधिकरणले ५० भन्दा बढी गुनासा प्राप्त गरेको छ र ती सबैलाई सम्बोधन गर्दै कारबाही अघि बढाइएको छ। मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारको कार्यसूची अनुसार बुँदा नम्बर ४२ मा सट्टेबाजीसम्बन्धी सबै एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने निर्णय गरिएको थियो।
मुलुकी अपराध संहिता, २०७४ अनुसार कसैले सट्टेबाजी गर्न वा गराउन पाइँदैन; उल्लङ्घन गरेमा रकम जफत, एक वर्षसम्म कैद र रु १० हजारसम्म जरिवाना हुने व्यवस्था छ। विज्ञापन (नियमन गर्ने) ऐन, २०६६ अनुसार अनुमति नलिएका जुवा वा सट्टेबाजी विज्ञापनमा पनि कडा कारबाही हुने छ।
सरकारले अनधिकृत सट्टेबाजी एप वा वेबसाइट प्रयोग नगर्न र शङ्कास्पद एपबारे सम्बन्धित निकायमा जानकारी दिन पुनः आग्रह गरेको छ।









