पर्सा, २२ चैत –
पर्सागढी नगरपालिका–३ झवराहस्थित ईन्दु झवराह जंगल रिसोर्टले “वन जोगाऔं–पर्यावरण बचाऔं” भन्ने नाराका साथ वन संरक्षण र पर्यापर्यटन प्रवर्द्धनमा नयाँ अभियान सुरु गरेको छ। सो अवसरमा सबैया साझेदारी वन उपभोक्ता समूहका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई स्वागत तथा सम्मान गरिएको छ।
कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडा, डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमद, सबैया सब–डिभिजन कार्यालयकी रेन्जर कविता दास, साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष लखनलाल साह, उपाध्यक्ष असलम आलम लगायत सरोकारवाला व्यक्तिहरू उपस्थित थिए।
रिसोर्टका प्रबन्धक मणिन्द्रलाल नेपालीले पर्सा क्षेत्रमा पहिलोपटक जंगल रिसोर्ट सञ्चालन गरी प्रकृति, वन्यजन्तु र जैविक विविधताको अवलोकन गराउने लक्ष्य रहेको बताए। कार्यक्रममा ग्राभेल सडक निर्माण, भ्यू टावर र पोखरी निर्माण, हात्तीसार सञ्चालन र वन क्षेत्रको एकद्वार प्रणाली जस्ता पूर्वाधार विकास आवश्यक रहेको सुझाव दिइएको थियो।
वक्ताहरूले वन संरक्षण, स्थानीय सहभागिता र पर्यापर्यटन विकासलाई सन्तुलित रूपमा अघि बढाउँदा पर्सालाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गरेका छन्।









