बिचौलिया आरोपको विरोधमा पर्साका लेखापढी व्यवसायी आन्दोलनमा

वीरगंज, २२ चैत –

पर्सा जिल्लाका विभिन्न सरकारी कार्यालयमा सेवा दिँदै आएका लेखापढी व्यवसायीहरूले सोमबारदेखि आफ्नो सेवा ठप्प पार्दै अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन्। प्रहरीले विभिन्न सरकारी कार्यालयबाट बिचौलियाको आरोपमा धरपकड सुरु गरेको विरोधमा उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

गत शुक्रबार पोखरिया मालपोत कार्यालयबाट प्रहरीले बिचौलियाको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएपछि नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साको आह्वानमा जिल्लाका मालपोत, नापी, भूमिसुधार, अदालत र जिल्ला प्रशासन कार्यालयमा सेवा दिँदै आएका लेखापढी व्यवसायीहरूले हड्ताल सुरु गरेका हुन्।

एसोसिएसन पर्साका अध्यक्ष सुरेन्द्र प्रसाद यादवले बिना कारण लेखापढी व्यवसायीलाई कार्यालय परिसरभित्र र बाहिरबाट पक्राउ गर्ने कार्यको विरोधमा आन्दोलन गर्नुपरेको बताए। उनले भु–सेवा केन्द्र सञ्चालनको अनुमति लिएर कानुनी रूपमा काम गरिरहेका व्यवसायीमाथि धरपकड गरिएको भन्दै पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न माग गरेका छन्।

पर्सा जिल्लामा भु–सेवा केन्द्र सञ्चालनको इजाजत लिएका १२१ जना र लेखापढी व्यवसायीको इजाजतपत्र लिएका ४ सयभन्दा बढी व्यवसायी रहेका बताइएको छ।

सम्बन्धित पोस्टहरुः