वीरगंज, २३ चैत । भारत–नेपाल सीमास्थित वीरगंज–रक्सौल एकीकृत सुरक्षा जाँच चौकी पूर्ण रूपमा सञ्चालनमा आउन तयार भएको छ ।
नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालै आइसिपीको निरीक्षण गर्दै यहाँ छिट्टै “यात्री शाखा” प्यासेन्जर टर्मिनल सञ्चालनमा ल्याइने घोषणा गरेका छन ।
यस नयाँ व्यवस्था अन्तर्गत अब तेस्रो देशका विदेशी पर्यटकहरूले इमिग्रेशन र कस्टमसम्बन्धी सम्पूर्ण सुविधा आइसिपी परिसरमै प्राप्त गर्नेछन्, जसले भारत–नेपालबीचको द्विपक्षीय पर्यटनलाई नयाँ गति दिने अपेक्षा गरिएको छ।
अर्थमन्त्रीले स्पष्ट पारेका छन् कि यस नयाँ व्यवस्थापछि पनि सामान्य भारतीय र नेपाली नागरिकका लागि पुरानो भन्सार नाका (मैत्री पुल) पहिलेकै जस्तो आवतजावतको मुख्य केन्द्र रहनेछ। उनले अधिकारीहरूलाई आइसिपीलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिंदै मुख्य व्यापारिक मार्गमा पर्ने चाप कम गर्न आग्रह गरे।
निरीक्षणका क्रममा मन्त्रीले आइसिपीमा वर्षौदेखि बन्द अवस्थामा रहेको आधुनिक कन्टेनर एक्स–रे मेसिन तुरून्त सञ्चालनमा ल्याउन कडा निर्देशन दिए। उक्त मेसिन बन्द राखिएकोमा असन्तुष्टि जनाउँदै उनले भने कि यो सुरक्षा तथा राजस्व चुहावट रोक्न अत्यन्तै महत्वपूर्ण छ। यसको सञ्चालनपछि व्यापारिक सामानको जाँच अझ सुरक्षित र छिटो हुने तथा तस्करी नियन्त्रणमा पनि प्रभावकारी सुधार आउनेछ।
यो आइसिपी भारत सरकारको ड्रीम परियोजनाअन्तर्गत विकास गरिएको हो, जसको उदघाटन सन् २०१८ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रूपमा गरेका थिए। यस परियोजनाअन्तर्गत वीरगंजमा करिब ८६ करोड रुपियाँँ र रक्सौल आइसिपीमा झण्डै सवा अर्ब रुपियाँँ खर्च गरिएको छ।
नयाँ यात्री सेवा शुरू भएपछि यो आइसिपी व्यापार मात्र होइन, पर्यटन र सीमा व्यवस्थापनको क्षेत्रमा पनि नयाँ मानक स्थापित गर्ने विश्वास गरिएको छ।









