निलम्बन फुकुवा गर्न एन्फाको राखेपलाई आग्रह

वीरगंज, २४ चैत –

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई आफूमाथिको निलम्बन ७ दिनभित्र फुकुवा गर्न आग्रह गरेको छ। एन्फाले पत्रमार्फत राखेपलाई यस्तो अनुरोध गरेको हो।

एन्फाका अनुसार अन्तर्राष्ट्रिय फुटबल निकायहरूले राखेपको निर्णयलाई तेस्रो पक्षको हस्तक्षेप भन्दै अस्वीकार्य ठहर गरेका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले समेत एन्फाको स्थगित निर्वाचन प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको जनाएको छ।

फिफाले चैत १३ गते स्थगित भएको निर्वाचन प्रक्रिया पुनः सुरु गरी ७ दिनभित्र सम्पन्न गर्न निर्देशन दिएको छ। निर्देशन पालना नभए नेपाललाई निलम्बनका लागि सिफारिस हुन सक्ने चेतावनी पनि दिइएको एन्फाले जनाएको छ।

यसअघि राखेपले तहगत चुनाव सम्पन्न नगरेको भन्दै चैत ११ गते एन्फालाई ३ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो।

सम्बन्धित पोस्टहरुः