काठमाडौँ, २४ चैतः जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका विभिन्न
ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी
अपनाउन अनुरोध गरेको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई
ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिनुभयो ।
उहाँले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव
रहेको तथा भोलिदेखि थप बढ्ने भएकाले मौसमको अवस्थाअनुसार सावधानी अपनाएर
काम कारबाही गर्न अनुरोध गर्नुभएको छ ।
यसको असर पश्चिम नेपालमा बढी रहेको र ती क्षेत्रमा भने बिहानैबाट असर गर्ने
बताउनुभयो । उहाँका अनुसार दिउँसो त्यसको असर काठमाडौँमा पनि आइपुग्ने छ ।
विभागले आज साँझ जारी गरेको बुलेटिनअनुसार बुधबार गण्डकी, लुम्बिनी,
कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लाग्ने तथा बाँकी भू–भागमा
साधारणतया बादल लाग्ने जनाइएको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा कोशी र
बागमती प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थानहरुमा, मधेस
प्रदेशलगायत कोशी र बागमती प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा
मेघगर्जन÷चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा/हिमपातको सम्भावना
रहेको विभागले जनाएको छ ।
यता गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली
भू–भागको एक–दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना रहेको पनि मौसमविद्
लामिछानेले बताउनुभयो ।
मधेस, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र तराई भू–भागमा
केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको उहाँले बताउनुभएको छ ।
बिहीबार पनि बदली कायम रहने छ ।








