अमलेखगन्जमा गैरकानुनी पोलिक्लिनिक बारे मुख खोले सञ्चालक कार्की

वीरगंज, २५ चैत –

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ सागरटोलस्थित कार्की पोलिक्लिनिक गैरकानुनी रूपमा सञ्चालन भइरहेको आरोप लागेको छ। स्थानीयका अनुसार उक्त पोलिक्लिनिक विगत तीन वर्षदेखि आवश्यक अनुमति बिना सञ्चालन हुँदै आएको छ।

स्थानीयवासीले पोलिक्लिनिक सञ्चालनका लागि न त सम्बन्धित निकायबाट अनुमति लिइएको छ न त भवनको नक्शा पास गरिएको छ भन्दै गुनासो गरेका छन्। नौ शैयासहित सञ्चालन भइरहेको उक्त क्लिनिकमा उपचार सेवा दिइँदै आएको बताइएको छ। साथै, बिरामीसँग लिइने शुल्कको बिलसमेत अनियमित रहेको आरोप छ।

यस विषयमा सञ्चालक उद्धव कार्कीसँग गरिएको कुराकानीमा उनले प्रारम्भमा तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालय बाराबाट अनुमति लिएको र हाल नवीकरणका लागि प्रक्रिया अगाडि बढाइएको दाबी गरेका छन्। उनका अनुसार उक्त प्रक्रिया हाल प्रदेशस्तरीय मन्त्रालयमा अन्तिम चरणमा रहेको छ।

भवन निर्माणसम्बन्धी प्रश्नमा उनले अमलेखगन्ज क्षेत्रमा ऐलानी जग्गामा अन्य संरचनाहरू पनि रहेको उल्लेख गर्दै आफ्नो क्लिनिक पनि त्यही प्रकृतिको जग्गामा बनेको बताएका छन्। साथै, सरकारी निकायले छानबिन गरे आफू सहयोग गर्न तयार रहेको उनको भनाइ छ।

उनले पोलिक्लिनिकमा रहेका नौ शैयाहरू बिरामीको निगरानीका लागि मात्र प्रयोग हुने र भर्ना सेवा नदिइने दाबी गरेका छन्।

सम्बन्धित पोस्टहरुः