लेखापढी व्यवसायीलाई रिहाइका माग गर्दै प्रजिअलाई ज्ञापन

रौतहट, २६ चैत । 
रौतहटमा कार्यरत रहेका लेखापढी व्यवसायीहरूमाथि राज्य पक्षबाट बल प्रयोग गरी बिना प्रमाण पक्राउ गरिएको भन्दै सम्बन्धीत व्यवसायी तथा उनीहरूका पेशागत संघ–संस्थाहरूले कडा आपत्ति जनाएका छन् ।

गौर र चन्द्रपुर क्षेत्रमा अवस्थित मालपोत कार्यालय सँग सम्बन्धीत घटनामा गौरबाट चार र चन्द्रपुरबाट एक जना गरी पाँच जना लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएर थुनामा राखिएको विरोधमा आक्रोश पोख्दै विना ठोस प्रमाणको समातेकोमा रिहाइको माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।

उक्त घटनाप्रति असन्तुष्टि जनाउँदै व्यवसायीहरूले पक्राउ परेकाहरूलाई बिना शर्त यथाशीघ्र रिहा गर्न प्रशासनसँग जोडदार माग गरे । व्यवसायीहरूका अनुसार उनीहरू अदालतबाट वैधानिक रूपमा लाइसेन्स प्राप्त गरी मालपोत कार्यालय मार्पmत भू–सेवा केन्द्र सञ्चालन गर्दै आएका छन् ।
सेवाग्राहीहरूको कामकाजमा सहजीकरण गर्दै आएको अवस्थामा अचानक गरिएको कारबाहीले पेशा माथि नै अन्याय भएको उनीहरूको गुनासो छ । राज्य पक्षबाट प्रयोग गरिएका केही शब्दावली र व्यवहारले व्यवसायीहरूको प्रतिष्ठामा आँच पुर्याएको भन्दै त्यसप्रति पनि कडा आपत्ति जनाए ।
पेशागत मर्यादामाथि प्रहार हुने गरी गरिएको व्यवहार अस्वीकार्य रहेको उनीहरूको भनाइ छ । यस विषयमा लेखापढी व्यवसायी एसोसिएशन गौर तथा चन्द्रपुर, गरूडा र मौलापुर इकाइ समितिहरूको संयुक्त बैठक बसेर आवश्यक निर्णय गरिएको थियो ।
सोही निर्णयअनुसार तयार पारिएको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय, गौरमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल समक्ष ज्ञापन पत्र बुझाइएको हो । ज्ञापनपत्र मार्पmत सम्बन्धीत निकायसँग समन्वय गरी समस्याको छिटो समाधान गर्न आग्रह गरिएको छ भने आगामी दिनमा यस्ता घटनाहरू दोहोरिन नदिन आवश्यक पहल गर्न पनि उनीहरूको माग छ ।
उक्त ज्ञापनपत्रमा नेपाल लेखापढी कानून व्यवसायी एसोसिएशन गौर रौतहटका अध्यक्ष हरिनारायण साह, चन्द्रपुर इकाई अध्यक्ष दिननारायण चौधरी, गरूडा इकाई अध्यक्ष हेमलाल साह तथा मौलापुर इकाई अध्यक्ष बालेकिस्मत यादव लगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
सम्बन्धित पोस्टहरुः