वीरगंज, २७ चैत –
विद्यालयमा प्रभावकारी पठनपाठनको अवधि घट्दै गएको भन्दै शिक्षा क्षेत्रप्रति चिन्ता व्यक्त गरिएको छ। दुई दिने साप्ताहिक बिदा, सार्वजनिक तथा अन्य बिदाहरूका कारण वार्षिक पढाइ समय अत्यन्त सीमित भएको विषयले बहस सिर्जना गरेको छ।
उपलब्ध तथ्यांकअनुसार शनिबार र आइतबार गरी वर्षमा १०४ दिन, सार्वजनिक बिदा करिब ५० दिन, प्रदेश बिदा ६ दिन, हिउँदे तथा वर्षे बिदा ४५ दिन, स्थानीय बिदा ५ दिन र परीक्षा तयारीका लागि ३ दिन गरी कुल २१३ दिन विद्यालय बन्द हुने देखिन्छ। यसअनुसार वर्षभरि विद्यालय सञ्चालन हुने दिन करिब १५२ मात्र रहन्छ।
तर ती दिनमध्ये पनि भर्ना अभियान, परीक्षा सञ्चालन, नतिजा तयारी र अन्य क्रियाकलापमा समय खर्चिँदा वास्तविक पठनपाठनका लागि करिब ९८ दिन मात्र उपलब्ध हुने अनुमान गरिएको छ।
शिक्षा विज्ञहरूका अनुसार पाठ्यक्रम विकास केन्द्रले २०५ दिनको आधारमा तयार गरेको पाठ्यक्रमलाई यति छोटो अवधिमा पूरा गर्न कठिन हुने देखिएको छ। यसले विद्यार्थीको सिकाइ उपलब्धिमा प्रत्यक्ष असर पर्ने चिन्ता व्यक्त गरिएको छ।
यस विषयमा सरोकारवाला निकायबाट स्पष्ट नीति र व्यावहारिक समाधान आवश्यक रहेको बताइँदै आएको छ।








