वीरगंज, २७ चैत –
पर्सा जिल्लाबाट निर्वाचित दुई जना प्रतिनिधिसभा सदस्य उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सदस्यमा मनोनित भएका छन्।
पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद बुद्धि प्रसाद पन्त (हरि) र क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद टेकबहादुर शाक्य (अञ्जन) संघीय संसदअन्तर्गत गठन गरिएको उक्त विषयगत समितिमा समावेश भएका हुन्।
प्रतिनिधिसभा बैठक सुरु भएको आठ दिनभित्रै सबै संसदीय विषयगत समिति गठन गरिएको हो। संघीय संसदअन्तर्गत १६ वटा विषयगत समिति रहेका छन्, जसमध्ये प्रतिनिधिसभातर्फ १० वटा र दुई वटा संयुक्त समिति रहेका छन्।
राष्ट्रियसभाअन्तर्गतका चार वटा समिति भने यसअघि नै गठन भइसकेका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा समितिहरू गठनसम्बन्धी प्रस्ताव प्रस्तुत भई स्वीकृत भएको थियो। संघीय संसद सचिवालयले सार्वजनिक गरेको नामावलीअनुसार पन्त र शाक्य उक्त समितिमा मनोनित भएका हुन्।
दुवै सांसद व्यावसायिक पृष्ठभूमिबाट राजनीतिमा आएका कारण उनीहरूको अनुभवले नीति निर्माण र कानुन निर्माण प्रक्रियामा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।








