अमेरिका–इरान वार्ता निष्कर्षविहीन, क्षेत्रीय तनाव बढ्ने संकेत

वीरगंज, २९ चैत –

पाकिस्तानको राजधानी इस्लामाबादमा भएको अमेरिका र इरानबीचको उच्चस्तरीय शान्ति वार्ता निष्कर्षविहीन बनेपछि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तनाव बढ्ने संकेत देखिएको छ।

झण्डै २१ घण्टा लामो छलफलपछि पनि सहमति जुट्न नसकेपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्ससहितको वार्ता टोली स्वदेश फर्किएको छ। करिब चार दशकपछि भएको प्रत्यक्ष उच्चस्तरीय संवादका रूपमा हेरिएको यो वार्ता प्रमुख मुद्दामै असहमति हुँदा निष्कर्षमा पुग्न सकेन।

वार्तामा अमेरिकाले इरानलाई आणविक कार्यक्रम पूर्ण रूपमा रोक्न दबाब दिएको थियो भने इरानले हर्मुज जलमार्गमाथिको नियन्त्रण, अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने, युद्ध क्षतिपूर्ति र मिसाइल कार्यक्रमलाई निरन्तरता दिने अडान राखेको थियो।

यी विषयमा सहमति नजुट्दा वार्ता विफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यससँगै यसअघि घोषणा गरिएको दुई हप्ते युद्धविराम पनि संकटमा पर्ने देखिएको छ।

विश्लेषकहरूका अनुसार अब पुनः सैन्य तनाव बढ्न सक्ने जोखिम उच्च रहेको छ। विशेषगरी हर्मुज जलमार्ग प्रभावित भए विश्व ऊर्जा आपूर्तिमा गम्भीर असर पर्ने चिन्ता व्यक्त गरिएको छ।

अमेरिकाले आवश्यक परे जलमार्ग खुला राख्न सैन्य तयारी गर्न सक्ने संकेत दिएको छ भने इरानले आफ्नो सार्वभौमिक अधिकारमा सम्झौता नगर्ने स्पष्ट पारेको छ।

यद्यपि, दुवै पक्षबीच कूटनीतिक संवाद पूर्ण रूपमा बन्द नभएको र प्राविधिक तहमा वार्ता जारी रहने सम्भावना रहेको जनाइएको छ।

सम्बन्धित पोस्टहरुः