वीरगंज, २९ चैत –
भारतीय प्रख्यात पार्श्व गायिका आशा भोसलेको निधन भएको छ। आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालका चिकित्सकले उनको निधन भएको पुष्टि गरेका हुन्।
कार्डियक अरेस्टपछि उनलाई शनिबार अस्पतालमा भर्ना गरिएको थियो। उनी लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय रहँदै आएकी थिइन्। निधनको समयमा उनी ९२ वर्षकी थिइन्।
८ सेप्टेम्बर १९३३ मा महाराष्ट्रमा जन्मिएकी भोसलेले बाल्यकालदेखि नै गायन यात्रा सुरु गरेकी थिइन्। पारिवारिक जिम्मेवारीका कारण उनले सानै उमेरमा नै संगीत क्षेत्रमा प्रवेश गरेकी थिइन्।
सन् १९४३ मा मराठी फिल्मबाट पार्श्व गायन सुरु गरेकी उनले १९४८ मा हिन्दी चलचित्र ‘चुनरिया’ मार्फत बलिउडमा प्रवेश गरेकी थिइन्। त्यसयता उनी निरन्तर संगीत क्षेत्रमा सक्रिय रहिन्।
गजल, भजन, पपदेखि शास्त्रीय संगीतसम्मका विविध विधामा स्वर दिएकी भोसलेलाई विश्वकै धेरै स्टुडियो रेकर्डिङ गर्ने कलाकारका रूपमा समेत गिनीज वर्ल्ड रेकर्ड्सले मान्यता दिएको थियो।
उनले २० भन्दा बढी भाषामा १२ हजारभन्दा बढी गीत गाएकी छन्। ‘दम मारो दम’, ‘चुरा लिया है तुमने जो दिल को’ र ‘पिया तू अब तो आजा’ उनका चर्चित गीतहरू हुन्।








