वीरगंज, २९ चैत –
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सम्पत्ति विवरण सार्वजनिक गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।
सार्वजनिक विवरण अनुसार प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा १९० तोला सुन, चाँदी, हिरालगायतका गरगहना रहेको उल्लेख गरिएको छ। उक्त सम्पत्तिको स्रोत ‘पैत्रिक’ रहेको जनाइएको छ।
प्रधानमन्त्री शाहले आफ्नो बैंक खातामा १ करोड ४६ लाख रुपैयाँ मौज्दात रहेको खुलाएका छन्। उनले आफ्नो आयको मुख्य स्रोत सामाजिक सञ्जाललाई उल्लेख गरेका छन्।
विवरणमा फेसबुकमा ४० लाख, युट्युबमा १२ लाख र एक्समा ५ लाख फलोअर्स रहेको जानकारी पनि दिइएको छ।
यसैगरी पारिवारिक सम्पत्तिअन्तर्गत उनका बुबाको नाममा महोत्तरीमा ९ विघा जग्गा रहेको छ।
साथै काठमाडौंमा ९ आना र धनुषामा १ विघा २ कठ्ठा जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ।








