वीरगंज, २९ चैत –
नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी करण केसीलाई अम्पायरप्रति सामाजिक सञ्जालमार्फत गरेको अभिव्यक्तिका कारण कारबाही गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत एक खेलका लागि प्रतिबन्ध लगाउनुका साथै शतप्रतिशत म्याच फी जरिवाना गर्ने निर्णय गरेको हो।
क्यानका अनुसार केसीले सामाजिक सञ्जालमा अम्पायरप्रति लक्षित अभिव्यक्ति सार्वजनिक गरेपछि त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको थियो। उक्त अभिव्यक्ति खेल भावना विपरीत रहेको ठहर गर्दै कारबाही गरिएको जनाइएको छ।
प्रतिबन्धका कारण उनले नेपाल पुलिस क्लबबाट खेल्दै आएको टोलीको तर्फबाट एक खेल गुमाउनेछन्। साथै सो खेलको सम्पूर्ण म्याच फी पनि कट्टा गरिनेछ।
यसअघि उनले सामाजिक सञ्जालमा राखेको स्टाटसप्रति आलोचना भएपछि माफी माग्दै हटाए पनि क्यानले अनुशासनको मापदण्डअनुसार कारबाही गरेको जनाएको छ।








