वीरगंज, २९ चैत –
वीरगंज महानगरपालिका–९ श्रीपुरस्थित भारतीय राजदूतावास पछाडि रहेको एक घरमा भएको कुटपिट घटनामा एक युवकको ज्यान गएको छ।
मृत्यु हुनेमा पर्साको कालिकामाई गाउँपालिका–१ मुडली निवासी २७ वर्षीय विकास चौरसिया रहेका छन्। प्रारम्भिक जानकारी अनुसार उनी नेपाल प्रहरीका कर्मचारी थिए।
स्थानीयका अनुसार डेरामा बस्दै आएको एक परिवारबीचको विवाद चर्किँदै जाँदा झगडा कुटपिटमा परिणत भएको थियो। सो क्रममा रड प्रहार हुँदा चौरसियाको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन पुरुष र एक महिलासहित चार जनालाई नियन्त्रणमा लिएको छ।
घटनापछि केही समय क्षेत्र तनावग्रस्त बने पनि प्रहरीको सक्रियतामा अवस्था नियन्त्रणमा आएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।








