वीरगंज, २ वैशाख –
मधेश प्रदेशमा मानसिक यातनाबाट प्रभावित बिरामीहरूको संख्या उल्लेख्य रूपमा बढ्दै गएको तथ्यांक
सार्वजनिक भएको छ।
प्रादेशिक अस्पताल जनकपुरधामस्थित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) का अनुसार पछिल्लो नौ महिनामा सेवा लिन आएका ८८१ पीडितमध्ये करिब ५० प्रतिशत मानसिक यातनाबाट प्रभावित रहेका छन्। तीमध्ये ४०१ जना मानसिक समस्या सम्बन्धी रहेका छन्, जसमा अधिकांश महिला छन्।
केन्द्रका अनुसार अधिकार तथा स्रोतबाट वञ्चित हुने २८३, शारीरिक चोटपटकका ७९, यौनजन्य दुर्व्यवहारका ८४ तथा जबरजस्तीकरणीका १२ घटना दर्ता भएका छन्। अधिकांश पीडित १९ देखि ४९ वर्ष उमेर समूहका रहेका छन्।
सेवा लिनेमध्ये ३९१ जनालाई थप उपचारका लागि अस्पताल रिफर गरिएको छ भने ५०६ जनाले मनोपरामर्श सेवा लिएका छन्। जिल्लागत रूपमा सबैभन्दा बढी धनुषाबाट ५१७ जना पीडित आएका छन्।
केन्द्रले जनशक्ति अभाव, ढिलो उजुरी तथा प्रमाण सङ्कलनमा कठिनाइ जस्ता चुनौती रहेको जनाएको छ। समस्या समाधानका लागि जनशक्ति थप गर्ने र मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ।








